माया राई, किरात राई महिलाहरूको संस्था सुम्निमाकी केन्द्रीय महासचिव तथा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (NIWF Forum) केन्द्रको , कोशी प्रदेश अध्यक्ष हुन्। बाल क्लबबाट सामाजिक अभियानमा प्रवेश गरेकी उनी सुरुवातमा महिलावादी आन्दोलनसँग जोडिइन् र पछि आदिवासी महिलाहरूको न्यून प्रतिनिधित्व र विशिष्ट अनुभवहरू देखेपछि आदिवासी महिला अधिकारको वकालतमा सक्रिय भइन्। उनले आदिवासी महिलाहरूका इतिहास, योगदान र संघर्षहरू पर्याप्त रूपमा दस्तावेजीकरण नभएको बताउँछिन्। उनको जीवनको सबैभन्दा महत्वपूर्ण राजनीतिक अनुभव पहिचान आन्दोलन, विशेषगरी कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलन हो, जहाँ उनले अग्रपङ्क्तिमा रहेर सहभागिता जनाइन्, दमन, निराशा र कानुनी चुनौतीहरू समेत भोगिन्। उनी आदिवासी आन्दोलनमा महिलाहरूको योगदान धेरै भए पनि त्यसको उचित मान्यता नपाएको महसुस गर्छिन्। मायाका अनुसार आदिवासी संस्कृतिमा महिलाको स्वतन्त्रता र सम्मानका सकारात्मक अभ्यासहरू छन्, तर पछिल्लो समय पितृसत्तात्मक प्रभाव बढ्दै गएको छ। माओवादी आन्दोलनलाई उनी एकातर्फ डर र हिंसाको अनुभवसँग जोड्छिन् भने अर्कोतर्फ पहिचान, अधिकार र गणतन्त्रका बहसहरू अघि बढाउन योगदान दिएको मान्छिन्।